परिचय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कृषि, खाद्य तथा सिंचाई मन्त्रालय मातहत रहने गरी खाद्य विभागको रुपमा वि.स.२०१८ सालमा स्थापना भई वि.सं. २०२३ सालमा यसलाई विभागस्तरीय कार्यालयकै रुपमा खाद्य अनुसन्धानशाला नामाकरण गरिएको थियो । वि.सं. २०२३ सालमा खाद्य ऐन र वि.सं. २०३३ सालमा दाना पदार्थ लागू भएको थियो । वि.सं. २०३७ साल पछि लामो समयसम्म यो विभाग केन्द्रिय खाद्य अनुसन्धानशालाको नामले परिचित रह्यो। वि.सं. २०५७ सालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको रुपमा यस विभागको नामाकरण भई कृषि विषय हेर्ने मन्त्रालय अन्तरगतका तीनवटा विभागहरु मध्येको एक विभागको रुपमा रहेको थियो । मिति २०८३/०१/३० गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन ) नियमावली, २०८३ बमोजिम यस विभाग हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहने व्यवस्था भएको छ ।खाद्य ऐन, २०२३ लाई प्रतिस्थापन गर्दै खाद्य पदार्थमा स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, मिति २०८१/०४/१९ गते देखि कार्यान्वयन भइरहेको छ। हाल विभागले ७७ वटै जिल्लामा  खाद्य स्वच्छता गुणस्तर नियमन र दाना पदार्थहरुको स्वच्छता नियमन गरी आम उपभोक्ताहरुको हक हितको संरक्षण गर्दै आईरहेको छ र सोही अनुरुप उपभोक्ता एवं व्यवसायीहरुलाई प्रयोगशाला समेत प्रदान गरिरहेको छ । साथै यस विभागबाट स्थानिय, उपयुक्त एवं व्यवसायमूलक खाद्य प्रविधिहरुको विकास एवं सीपमूलक तालिम दिई खाद्य प्रौद्योकिकरणमा टेवा पु-याउनुको अतिरिक्त खाद्य पोषण सम्बन्धि  ज्ञान विस्तार लगायतका क्रियाकलापहरु सञ्चालन गरि कूपोषण न्युनीकरणमा समेत सघाउ पु-याउदै आईरहेको छ ।